समाजिक फीड
रौतहट, माघ १५ गते ।
रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
गौर नगरपालिका–४, गढवा टोलमा २१ वर्षीय पुनम बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी दुई दिनअघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
तर पुनमको माइती पक्षले दाइजोको निहुँमा उनका हत्या भएको आरोप लगाएको छ ।
पुनमले घरको ढोका भित्रैबाट लगाएर आत्महत्या गरेको घरका सदस्यहरुले बताउँदै आएका छन् ।
२०७७ साल जेठ महिनामा पुनमको सुनिल बैठासँग विवाह भएको थियो ।
भारतको बिहार, मोतिहारी जिल्ला, रुसुलपुर घर भएका मृतकका बुबा संजय बैठाले पुनमलाई घर पक्षकाले शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए ।
ज्वाइँ सुनिल बैठा र उनकी आमा मिलेर आफ्नो छोरीको हत्या गरेर घरमा झुण्ड्याएको उनको आरोप छ ।
बिहेमा नगद रुपैयाँ कम दिएको, पलङ नदिएको भन्दै यातना दिँदै आमाछोरा मिलेर छोरी पुनमको हत्या गरेको मृतककी बुवा संजयले दावी गरे ।
‘मेरो ज्वाइँले आफ्नो बुबा बिजुली बैठाको इशारामा मेरी छोरीको हत्या गरेका छन्,’ उनले भने । जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिनसमेत नमानेको संजयको गुनासो छ ।
तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले मृतकको पोष्टमार्टम रिपोर्ट नआएसम्म र घटनाबारे अनुसन्धान पूरा नभएसम्म हत्या हो कि आत्महत्या भनेर किटान गर्न नमिल्ने बताइन् ।
पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या ठहर भएमा जोसुकै अपराधी भए पनि कारबाहीको दायरामा ल्याउने उनको भनाई छ ।