अमेरिका । अमेरिकामा हिमआँधीका कारण मृत्यु हुनेकाे संख्या ८९ पुगेको छ । हिम आँधीका कारण पछिल्लो एक हप्तामा ठूलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मृत्यु हुने सङ्ख्या १६ पुगेको छ ।
ती दुवै राज्यमा आपतकाल लगाइएको छ । देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू माझ बिजुलीको आपूर्ति ठप्प छ । हिउँका कारण खानेपानीका पाइप फुट्दा कयौँ स्थानमा पानीको आपूर्तिमा पनि अवरोध उत्पन्न भएको छ ।
पछिल्लो एक हप्तामा ८९ जनाको मृत्यु भएको सीबीएसको तथ्याङ्कले देखाएको छ । इलिनोइस, पेन्सिल्भेनिया, मीसीसीपी, वासिङ्टन, केन्टुकी, विस्कन्सिन, न्यूयोर्क, न्यूजर्जी र अन्यत्र पनि जनधनको क्षति भएको छ ।
गएको बुधवार पोर्टल्यान्डमा शक्तिशाली आँधीका कारण बिजुलीको तार खसेर कारमा झर्दा करेन्ट लागेर एकै स्थानमा ३ जनाको ज्यान गएको थियो ।