सामाजिक फीड-
जनकपुरधाम, माघ ८ गते ।
भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ । आज भव्य समारोहबीच भगवान रामको मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ। राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ ।
ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम आज दिउँसो १२ः४५ (भारतीय समय अनुसार १२ः३० देखि १ बजे) बजे सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राण प्रतिष्ठामा सहभागी हुनेछन्। त्यसपछि मन्दिर दर्शनका लागि खोलिने छ ।
ट्रस्टले भगवान रामको मूर्तिलाई ११४ घैँटोलाई औषधियुक्त र छुट्टाछुट्टै तिर्थस्थलबाट ल्याइएको जलले नुहाइने बताएको छ ।
प्राण प्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयू नदीबाट सुरु भएको थियो र आज उत्तम साइतमा समाप्त हुनेछ ।
प्राण प्रतिष्ठा समारोहमा सहभागि हुन आमन्त्रित अतिथिहरू अयोध्या पुग्ने क्रम जारी छ। यसमा भारतीय खेलाडी, बलिवुड अभिनेता र अभिनेत्री, राजनीतिक दलका नेताहरू, साधुसन्त लगायतका छन् ।
अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
दस हजार सीसीटीभी क्यामरा, आर्टिफिशियल इन्टेलिजेन्सजडित ड्रोनले त्यहाँको गतिविधिमा निगरानी गरिरहेको छ । सात घेराको सुरक्षा व्यवस्था गरिएको अयोध्यामा ठाउँठाउँमा प्रहरी र सशस्त्रका गरी ११ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।