एजेन्सी
जनकपुरधाम, माघ ४ गते ।
पाकिस्तानले इरानमा जवाफी आक्रमण गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ ।
इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको जनाएको छ ।
बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘ठूलो परिमाणमा आतङ्कवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको ,’ पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ ।
इरानी सरकारी संचारमाध्यमका अनुसार इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको छ । इरानले पाकिस्तानमा मङ्गलबार राति ‘आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।
सरवन शहर वरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका लागि विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुला उल्लङ्घन’ को निन्दा गरेको थियो।
तेहरानले इराक र सिरियामा पनि ‘इरानी विरोधी आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेपछि इरान सरकारले पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको थियो।
यो घटनाले एसियाका दुई आणविक मुलुक इरान र पाकिस्तानबिच तनाव बढेको छ ।
इरानले यो हप्ताको सुरुमा इराक र सिरियामा पनि यस्तै हवाई हमला गरेको थियो । इस्लामाबादले आफ्नो भूमिमा गरिएको इरानी आक्रमणलाई गैरकानूनी भन्दै गम्भीर परिणामको चेतावनी दिएको छ ।
तेहरान र इस्लामावादले एकअर्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्, तर दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको विरलै पाइन्छ।