Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ३ गते ।

जलाद खोलामा वर्षौदेखि अलपत्र छोडिएको पुल निर्माण सम्पन्न गर्न माग गर्दै छेउका गाउँबासीले धनुषाको महेन्द्रनगरमा चक्काजाम गर्दै प्रदर्शन गरेका छन् ।

मिथिला मध्यमा परिक्रमा सडक अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–७ इच्छापुरस्थित जलाद नदीमा सात वर्षदेखि अलपत्र निर्माणाधीन पुललाई यथाशीघ्र निर्माणको माग गर्दै गाउँवासीले जुलुस प्रदर्शन गरेका हुन् ।

पुल निर्माण गर्न दबाब स्वरुप बुधवार दिउँसो पौने १२ बजेदेखि ढल्केवर जनकपुर सडकखण्डस्थित महेन्द्रनगरमा आधा घण्टा सडक अवरुद्ध गरेको नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी शिवशंकर महतोले जानकारी दिए ।

उनका अनुसार निर्माणधीन पुल स्थलबाट स्थानीय राजनीतिक दल तथा युवाले विरोध जुलुस निकालेर महेन्द्रनगर पुगेका थिए ।

थासिघ्र पुल निर्माण नभए अगामी दिनमा अझ थप शसक्त आन्दोलन गर्न बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् ।

डिभिजन सडक कार्यालय जनकपुरबाट बनिरहेको उक्त पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ ।

१२० मिटर लम्बाई र ११ मिटर चौडाई पुल १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माण सम्पन्न गर्न ठेक्का लागेको थियो ।
सम्झौता बमोजिम १९ पुस २०७६ मा सम्पन्न गर्नुपर्ने पुलको पुनः समयावधि थप गरिएको थियो ।

त्यसपछि १९ असार २०८० मा सम्पन्न गरिसक्नु पर्ने पुल निर्माण ५३ प्रतिशतमात्र काम गरेर अलपत्र छोडिएको छ ।

जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय सास्ती भोग्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!