समाजिक फीड
जनकपुरधाम, माघ २ गते ।
सरकारी निकाय र ठेकेदारको लापरबाहीले ढल्केवर–जनकपुर सडकखण्डमा निर्माणाधीन दुईवटा पुल अलपत्र परेको छ ।
ठेक्का सम्झौता भएको साढे चार वर्ष बितिसक्दा समेत पुल निर्माण सम्पन्न नहुँदा दिनहुँ दुर्घटना हुँदै आएको छ ।
सडक विस्तारको क्रममा मिथिला नगरपालिका–६ स्थित ढल्केवरभन्दा दक्षिण सडखण्डमा पर्ने बसही र लक्षमिनिया गाएँपालिका—४ स्थित पर्ने सपहीको ६ लेन पुल अलपत्र परेको हो ।
दुबै पुल निर्माण क्षेत्रमा रहेको खाल्डाखुल्डी लगायतका प्राविधिक त्रुटी र असावधानीले दुबै ठाउँमा दिनहुँ सवारी दुर्घटना भइरहेको छ ।
बसही पुल र सपही पुल निर्माणाधीन स्थलमा गत ३० महिनामा ३२ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । जसमध्ये २० वटा दुर्घटना सपही पुल क्षेत्रमा भएको छ भने १२ वटा बसही पुल क्षेत्रमा ।
यस अवधिमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु र ५३ जना घाइते भएको जिल्ला ट्रफिक कार्यालय धनुषाले जनाएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार यी दुबै पुलमा स—साना दुर्घटना नहुने कुनै हप्ता छैन् ।
तर गम्भीर घाइते, मृत्यु र सवारीमा ठूलो क्षति बाहेकका दुर्घटना प्रहरीसमक्ष पुग्दैन् । पुल निर्माणमा ठेकेदार र सडक डिभिजन कार्यालय दुबैले लापरबाही गर्दा बसही पुलमा मात्रै यात्रुको ज्यान जानुका साथै करोडौँको सवारी साधनमा क्षति भएको मिथिला नगरपालिका—६ का वडाध्यक्ष नन्द किशोर यादवले बताए ।
‘हामीले सडक डिभिजन र ठेकेदारलाई पुल छिटो निर्माण गर्नुस, पुल निर्माण नहुँदा धेरैले ज्यान गुमाए, घाइते भए जनधनको क्षति भयो भनेर बारम्बार भनेका छौँ तर वास्ता गर्दैन्,’ उनले भने, ‘पुलको दुबैतर्फ ६ लेनको राम्रो सडक छ । गाडी तिब्र गतिमा आउँछ तर यहाँको पुल दुई लेनको साँघुरो छ । पुल छेउमा आउनसाथ गाडी खाल्डोमा पुग्छ र अनियन्त्रित हुन्छ । दिनहुँ दुर्घटना र पीडा देखेर हाम्रो मन दुख्छ तर के गरौँ । हाम्रो केही चले पो !’
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार आर्थिक वर्ष वर्ष २०७८/२०७९ मा निर्माणाधीन पुल क्षेत्रमा भएको १० वटा दुर्घटनामा ४ जनाको मृत्यु भएको २४ जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०७९/२०८० सम्म मा भएको १३ वटा घटनामा २ जनाको मृत्यु र १५ जना घाइते भएको तथ्यांक छ । त्यसैगरी चालु आर्थिक वर्षको पुस पहिलो साता सम्म मात्रै ९ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु र १४ जना घाइते भएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरिक्षक शेखरकुमार साहले बताए ।
उनका अनुसार तिब्र गतिका कारण पुल निर्माणाधीन क्षेत्रमा अधिकांस दुर्घटना भएको छ । ‘दुर्घटनाका अनैकौँ कारणहरु छन् तर सबैभन्दा दुर्घटना सवारी अनियन्त्रित भएर भएको देखिन्छ । विशेष गरी साना सवारी दुर्घटना भएको छ,’ उनले भने ।
ढल्केवरभन्दा दक्षिण सडखण्डमा पर्ने बसही खोलाको ६ लेन पुल निर्माणका लागि नागाअर्जुन हेम कन्सट्रक्सन जेभी र तत्कालीन जटही–जनकपुर–ढल्केवर ६ लेन सडक कार्यालय बर्दिबासबीच सम्झौता भएको थियो ।
२०७६ साल अषाढ ३१ गते भएको सम्झौतामा २०७८ साल अषाढ ३० गतेसम्म यो पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । भ्याट सहित १४ करोड ८ लाख २२३ रुपैँयामा उक्त पुल निर्माणका लागि ठेक्का सम्झौत भएको थियो । तर त्यस अवधिमा पुलको जग हाल्ने काम पनि हुन सकेन् ।
कार्यालयले पुल निर्माणका लागि फेरि म्याद थप्यो । २०८० साल अषाढ ३० गतेसम्म निर्माण सम्पन्न गर्न म्याद बढाइएको थियो । कोभिड महामारीपछि ठेकेदारको लापरबाहीले पुल निर्माण हुन नसकेको साइट इन्जिनियर विवेक झाले बताए । उनका अनुसार गत अषाढमै म्याद सकेपनि हालसम्म ३० प्रतिशत भौतिक प्रगति मात्रै भएको छ । निर्माण कम्पन्ीलाई हालसम्म २६ प्रतिशत भुक्तानी दिइएको झाले बताए ।
‘पुल निर्माणको म्याद थप गर्न कम्पन्ीले फेरि प्रस्ताव गरेको छ । तर हामीले समयमा काम नगरेकाले ठेक्का किन नतोड्ने भनेर चिठी लेखेका छौँ । सुरुमा कोभिडको कारणले काम हुन सकेन पछि ठेकेदारले पनि लापरबाही ग¥यो,’ इन्जिनियर झाले भने, ‘सरकारले पनि यो वर्ष बसही पुलका लागि १० लाख रुपैँया मात्रै विनियोजन गरेको छ । ठेक्का तोडेर अर्को लगाउन पनि बजेटको सुनिश्चितता छ्रैन् । त्यसैले यहीँ सम्झौतामा म्याद थप गर्नसक्नुपर्ने अवस्था आउनसक्छ ।’
यो पुलजस्तै लक्ष्मिनियाँ गाउँपालिका–४ स्थित सपहीमा हर्दिनाथ नदीको पुल निर्माणका लागि पनि २०७६ साल श्रावन १२ गते ठेक्का सम्झौता भएको थियो । तर हालसम्म यो पुल निर्माण सम्पन्न हुन सकेको छै्रन् । भ्याट सहित १४ करोड ५९ लाख ५८ हजार ८५८ रुपैँयामा सुर्या एण्ड सन्स प्राइभेट लिमिटेड सुनसरीले दुई वर्षमा निर्माण सक्किनेगरी ठेक्का लिएको थियो ।
त्यस अवधिमा यो पुलको समेत जगको काम पनि भएन् । कार्यालयले म्याद थप गरी पुल निर्माण सम्पन्न गयर्न २०८० माघ १३ सम्मको लागि समय दिएको छ । तर १५ दिन मात्रै म्याद बाँकी रहँदा समेत पुल निर्माण सुस्त गतिमा भइरहेको छ । हालसम्म यो पुलको ८९ प्रतिशत भौतिक प्रगति भएको झाले बताए ।
उनका अनुसार सपही पुलको ८७ प्रतिशत भुक्तानी भइसकेको छ । चालु आर्थिक वर्षमा यो पुलका लागि पनि सरकारले १० लाख रुपैँया मात्रै बजेट विनियोजन गरकाले निर्माण सम्पन्न हुनुमा उनले शंका गरे । ६ लेन जटही—जनकपुर—ढल्केवर सडक कार्यालयले सडक निर्माण सम्पन्न भइसकेपछि एकवर्षअघि यी दुबै पुल निर्माणको जिम्मेवारी सडक डिभिजन कार्यालय जनकपुरलाई एकवर्षअघि हस्तान्तरण गरेको थियो ।
पुल निर्माणमा ढिलाइ हुँदा यहाँ पटक पटक स्थानीयले आन्दोलन समेत गरेका छन् । पुल निर्माण सम्पन्न गर्न आफु पाँच पटक सडक डिविजन कार्यालय पुग्दा समेत सुनुवाइ नभएपछि एक महिनाअघि समेत चक्काजाम गरी आन्दोलन गरेको लक्ष्मिनियाँ गाउँपालिका—४ का वडाधयक्ष रमेशकुमार साहले बताए ।
‘पुल छेउमै रहेको स्कुलमा यहाँबाट दिनभर उडेको धुलो पुग्छ । बच्चाको कपडामा धुलैधुलो बस्छ । उनीहरु पटक पटक विरामी पर्छन् । स्वास्थ्यमा गम्भीर असर पुगेको छ । यहाँका बासिन्दाहरु लास्टै पीडित भएका छन् । पसलेहरुलाई बस्न गाह्रो भएको छ,’ उनले भने, ‘दुईपटक सडक जाम गरेर आन्दोलन गर्दा मात्रै काम अघि बढ्यो । अहिले फेरि काम सुस्त गतिमा चलेको छ । हाम्रो पीडा न ठेकेदारले बुझ्छन् न सडक डिभिजनले ।’
समयमै निर्माण सम्पन्न नभए फेरि आन्दोलन गर्ने उनले चेतावनी दिए । पुल निर्माण सुरु गर्दा सवारी चल्न छेउबाट बनाइएको बाटो व्यवस्थित नगर्दा धेरैजसो सवारी दुर्घटना भएको उनले बताए । वडाध्यक्ष साहका अनुसार सडक छेउमै पुल निर्माणका लागि खनिएको खाल्डोमा धेरैजसो सवारी खस्दा दुर्घटना भएको थियो ।