समाजिक फीड
वीरगञ्ज, माघ २ गते ।
वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान भएको २७८ वटा धाराको लाइन काट्ने तयारी भएको छ ।
नेपाल खानेपानी संस्थानले महानगरको विभिन्न सार्वजनिक स्थानमा जडान गरेको धाराको महसुलबापतको रकम भुक्तानी गर्न आनाकानी गरेपछि ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो।
खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल भुक्तानी गर्नेगरी धारा जडान गरिदिन पत्राचार गरेपछि संस्थानले गत २०८० साउनमा वडा नं १ देखि वडा नं १९ सम्मको विभिन्न सार्वजनिक स्थानमा दुई सय ७८ धारा जडान गरेको थियो।
धारा जडान भएयता महानगरपालिकाले खानेपानी महसुल भुक्तानी नगरेपछि ती धाराको लाइन काट्ने तयारी गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए।
‘सार्वजनिक स्थानमा जडान भएका ती सबै धारा जडानलागत तथा मासिक महसुल करिब रु ४४ लाखभन्दा बढी बक्यौता भइसकेको छ’ उनले भने, ‘बक्यौता महसुल बुझाउन गत २०८० असोज २५ गते नै महानगरपालिकालाई पत्राचार गरे पनि अझै महसुल बुझाएको छैन।’
महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडलले खानेपानी महसुल बुझाउने प्रतिबद्धता जनाएका छन्।
महानगरपालिकाले अब पनि महसुल नबुझाए बाध्य भएर सार्वजनिक स्थानमा जडान भएका धाराको लाइन काट्ने तयारी गरेको प्रमुख महर्जनको भनाइ छ।