Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, माघ २ गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियामा मृत फेला परेका २२ वर्षीय राधे सहनीका श्रीमतीको पनि गए राति उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते राधेकी श्रीमती २० वर्षीया अस्मिता शर्माको सोमबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राधे सोमबार बिहान पकडिया स्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार चार महिना अघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएपछि क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार आइतबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा अस्मितलाई लिएर हिडेका राधे डेढकिलोमिटर टाढा दुर्घटनामा परेका थिए ।

राधेका साथीहरु दुर्घनामा परेका राधेलाई छाडेर र अस्मितलाई गम्भीर घाइते अवस्थामा मातइत पुर्याएर भागेका थिए । माइत पक्षले राधेले नै अस्मितलाई मरासन्न हुनेगरी कुटपिट गरेर भागेको भन्दै प्रहरीमा खबर गरेका थिए । अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको थियो ।

रातभर राधेलाई खोजविन गर्दा सोमबार बिहान उनी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले भागेका तीनैजना युवकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मोटरासइकल दुर्घटना भएको खुलेको हो । राधे मृत फेला परेका ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो केही पार्टपुर्जा फेला परेको थियो ।

राधे चलाउने मोटरसाइकल अन्य साथीको रहेको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । कार्कीका अनुसार राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!