Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २ गते ।

धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला सोमवारबाट सुरु भएको हो ।

जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मकर मेला यस क्षेत्रको प्रख्यात मेला हो ।

मेलामा नेपाल तथा छिमेकी देश भारतका गरी लाखौँको सङ्ख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ।

धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजनहरू आउने गरेको भएपनि अन्य दिनको तुलनामा मेलामा बढी दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी स्वामी भरत दासले जानकारी दिए ।

धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएका कुरा पुरा हुने भएकाले दर्शनार्थीहरुको अत्यधिक भिड लाग्ने गरेको छ ।

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ ।

भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । यहाँ बर्सेनि धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासको भनाइ छ । यहाँ मङ्सिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ ।

धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ ।

पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावस्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङ्गले रङ्गिने जनविश्वास छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *