समाजिक फीड
जनकपुरधाम, पुस २६ गते ।
हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेस गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ को आरोपमा मुद्दा परेको थियो ।
काठमाडौंबाट गएराति स्थलमार्ग भएर सर्लाही ल्याइएका बम्जनलाई प्रहरीले पहिले सरकारी वकिलको कार्यालय लगेको थियो । त्यहाँ आवश्यक प्रक्रिया पूरा गरी बम्जनलाई जिल्ला अदालतमा पेस गरेको हो ।
जिल्ला अदालतमा गोलाप्रथाबाट गरिएको मुद्दा छनोटमा उनको मुद्दा न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको थियो । उनको बयानपछि सुनुवाइको काम भइरहेको छ । बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको मागदाबी गरी सुनुवाइ भइरहेको हो ।
उनलाई थुना, तारेख वा धरौटीमा राखेर मुद्दा चलाउने भन्नेबारेमा न्यायाधीशले आदेश दिनेछन् ।
सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।
२०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर धाक धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ । घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् ।
उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । अदालतले बम्जनलाई पक्राउ गर्न अनुमति दिए पनि फरार थिए ।