समाजिक फीड
जनकपुरधाम, पुस २५ गते ।
तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला चलाउँदै आएका रामबहादुर बमजनलाई सर्लाही प्रहरीको जिम्मा लगाउने तयारी भएको छ ।
पक्राउ गरी सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबारै उनलाई सर्लाही ल्याउन लागेको हो ।
बम्जनविरूद्ध सर्लाहीमा मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने तयारी रहेको सिआइबीले बताएको छ ।
सर्लाहीकी रिता बोटलाई बेपत्ता पारेको बमजनमाथि आरोप छ। बमजन विरुद्ध विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए।
उनीविरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ४ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन्।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।
बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।
बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्।
आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।
आफूलाई हुँदै बमजनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ।
उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको थियो।