नोएडा । भारतको नोएडामा भएको क्रिकेट खेलका क्रममा पिचमा नै एक ब्याट्सम्यानको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियरसमेत रहेका ब्याट्सम्यान ३४ वर्षीय विकास नेगीको हृदयघातका कारण मृत्यु भएको हो । आइतबार क्रिकेट खेल्ने क्रममा उनी मैदानमा ढलेका थिए ।
उनलाई अन्य खेलाडीहरूले अस्पताल पुर्याएका थिए र त्यहाँ पुग्दा उनलाई मृत घोषित गरिएको थियो । हृदयघात भएलगतै अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भएको थियो ।
विकास सन् २०२१ मा कोरोनाको दोश्रो लहरका बेला संक्रमित भएका थिए । तर, पछिल्लो समय विकास शारीरिक रूपमा फिट र उनलाई कुनै स्वास्थ्यसम्बन्धी समस्या नभएको परिवारजनले जनाएका छन् । विकासको मृत्युलाई लिएर उनका बुवाआमाले कुनै किसिमको उजुरी नगर्ने जनाएका छन् ।
नोएडामा कर्पोरेट लिगअन्तर्गत माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको खेल भइरहेको थियो । घटनापछि प्रतियोगिता रोकिएको थियो ।