एजेन्सी
जनकपुरधाम, पुस २४ गते ।
दक्षिण कोरियामा कुकुरको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
कोरियाली संसदले कुकुरको मासु उपभोग र विक्रीमा मंगलवार प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो ।
नयाँ कानुनमा सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर उसको मासु बिक्रीमा प्रतिबन्ध लगाउने लक्ष्य लिइएको छ ।
कानुन उल्लंघन गरेर कुकुर मार्नेलाई ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ ।
त्यस्तै मासुका लागि कुकुर पाल्ने वा बेच्नेलाई २ वर्षसम्म जेल सजाय हुने कानुनमा उल्लेख छ ।
किसान र रेस्टुरेन्ट सञ्चालकलाई ३ वर्षभित्रमा रोजगार तथा आम्दानीका लागि वैकल्पिक स्रोत उपलब्ध गराएपछि नयाँ कानुन कार्यान्वयनमा ल्याउने पनि कोरियाली सरकारले उल्लेख गरेको छ ।
केही वर्षदेखि कोरियामा मन नपराइने परिकारमा कुकुरको मासु पर्दथ्यो । नयाँ कानुनअनुसार कोरियामा अब मासुका लागि कुकुर पाल्न पाइने छैन ।
सरकारी पछिल्लो तथ्यांकअनुसार दक्षिण कोरियामा १६०० कुकुरको मासु पाइने रेस्टुरेन्ट र ११५० कुकुर फार्म रहेका छन् ।
राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन थालिएको हो ।