समाजिक फीड
जनकपुरधाम, पुस २४ गते ।
महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित रहेको एभरेस्ट चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन सुरु गरेको छ ।
गत पुस ४ गतेबाट क्रसिङ थालेको उद्योगले १६ गतेसम्म किसानको १९ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।
एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका प्रशासकीय प्रमुख जितेन्द्रकुमार मिश्रका अनुसार उद्योगले क्रसिङ थालेबको ११ दिनमा ५ लाख क्विन्टलभन्दा बढी उखुको भुक्तानी किसानलाई दिइएको हो ।
समयमै भुक्तानी पाउन थालेपछि किसान हर्षित भएका छन् । अघिल्ला वर्षमा चिनी मिलले समयमै भुक्तानी नदिँदा किसान समस्यामा पर्दै आएका थिए ।
उखु मिलमा पुर्याएको तीन दिनमै उद्योगले भुक्तानी गरेपछि खर्च चलाउन सजिलो भएको गौशाला भरतपुरका जयनाथ महतोले बताए । उद्योगले हाताहाती भुक्तानी गरे किसानले छाड्दै गएको उखु खेती पुनः बढ्न थाल्ने उनको बुझाई छ ।
एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको छ ।
एभरेष्टले मङ्सिर २५ गतेदेखि नै मिल सञ्चालनको तयारी गरेको थियो । तथापि मूल्य निर्धारणको विषयलाई लिएर उखु किसान आन्दोलनमा उत्रेका कारण निर्धारित समयमा मिल सञ्चालन हुन सकेको थिएन । ढिलै उखु क्रसिंङ संचालन भएपनि किसानलाई भुक्तानी भने समयमै दिन थालिएको हो ।
सरकारले गत वर्ष उखुको ५४० रुपियाँमा २५ रुपियाँ मात्रै थप गरी प्रति क्विन्टल ५६५ रुपियाँ कायम गरेको छ । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ समेत जोड्दा उखुको मूल्य प्रति क्विन्टल ६३५ रुपियाँ कायम भएको छ । उखु किसानले भने बढ्दो महँगीका कारण उखुको मूल्य प्रति क्विन्टल ७५० रुपियाँ माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए ।