फाएजा फहमिदा
जनकपुरधाम, पुस २२ गते ।
मिथिला बिहारी नगरपालिकाका रामचन्द्र पंडित अहिले आफ्नै पुख्र्र्याैली पेशामा जम्न थालेका छन् ।
चार वर्ष वैदेशिक रोजगारमा कतार बसेका पंडित आफ्नै देशमा केही गरेर देखाउने अठोटका साथ एक वर्ष अघि घर फर्केका थिए ।
घर फर्केपछि पंडित आफ्नो पुख्र्यौली पेशा माटोको भाँडो बनाउन तर्फ लागे ।
‘म विदेशमा चार वर्ष बसे । तर त्यति टाढा बसेर काम गर्नुको साटो आफ्नै ठाउँमा बसेर केही गरौँ भनेर घर फर्के’, पंडितले भने, ‘घर फर्केपछि म आफ्नो पुख्र्र्याैली पेशामा लागे । अहिले बिदेशमा कमाउन पैशा यहाँ नै म कमाईरहेको छु । आफ्नै काम गर्न फुर्सद छैन् ।’
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ कपिलेश्वरका ३० वर्षीय पंडित आफ्नै ठाउँमा काम गरेर वार्षिक ३ लाखसम्म कमाउँछन् । आफ्नै गाउँठाउँमा बसेर पुख्र्यौली पेशामा लागेर राम्रै आम्दानी गरिरहेका पंडित विदेश जानुभन्दा राम्रो आफ्नै देशमा केही गर्न युवाहरुलाई सुझाव दिन्छन् ।
‘विदेशमा बस्दै गर्दा आफ्नो गाउँमै केही गरौँ सोँचेर म आफ्नो देश फर्के’ उनले भने, ‘माटोको भाँडो बनाउने मेरो पुख्र्यौली पेशा थियो । म फर्केपछि यसैमा लागे ।’
कुनै समय हजुरबुवा र बुवाले गरेको काम आफु गर्दा सजिलो समेत रहेको बताउँदै उनले भने, ‘म कुम्हार छु । मेरो जातिगत पेशा नै यो हो । यो काम मैले आफ्नो बुवाबाट सिकेको छु । हामीलाई आफ्नो जिविका पार्जन गर्न यो काम सिकाइन्छ र यो हाम्रो पहिचान पनि हो ।’
पंडित तराई मधेशमा सधै कुनै न कुनै चाड पर्व रहने गरेकाले आफ्नो काम वर्ष भरि नै चल्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘माटोको भाडो हिन्दुहरुको हरेक चाड पर्वहरुमा प्रयोग हुन्छ । बिहेहरुमा पनि माटोले बनेको भाँडोहरुको प्रयोग हुन्छ । अहिलेको आधुनिकताको समयमा पनि संस्कृतिसंग जुडिएको मान्छेले पहिला प्रयोग हुने गरेको माटोको भाँडो नै किन्ने गर्छन् । चौरचणमा अनिवार्य रुपमा माटोको भाँडोमै दही जमाउने, खीर बनाउने प्रचलन अहिले सम्म चल्दै आएको छ ।’
वैदेशिक रोजगारीमा विभिन्न खाँडी मुलुकमा गईरहेका युवाहरुलाई उनी आफ्नै देशमा विभिन्न व्यवसाय गरेर जिवन चलाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यदि युवाहरु विदेश नगएर आफ्नै देशमा काम गरेर कमाउन चाहन्छ भने नेपालमा पनि राम्रो व्यवसाय चल्छ । कहिल्यै विदेश जानु पर्दैन ।’
पंडितले अहिले माटोको भाँडोमा चिखा खानेहरुको संख्या बढेकाले जनकपुरधामको विभिन्न चिया पसल सञ्चालकले आफुलाई मटका बनाउन अर्डन दिने गरेको बताए । उनले जनपकुरधामबाटै धेरै अर्डर आइरहेकाले आफुलाई भ्याइनभ्याई रहेको बताए ।
पुख्र्यौली पेशामा लागेका पंडित भन्छन, ‘म अहिले ११ बजे देखी ५ बजे सम्म कल्चरल भिलेजमा माटोको चिया कप, पानी खाने मग, माटोको पिगी बैंकहरु बनाउने काम गर्छु । त्यस पछि यँहाबाट घर जाँदा घरमा पनि यहि काम गर्छु ।’
एक्लै माटोको भाँडो बनाउँदै आएका पंडित आफ्नो पुख्र्र्याैली पेशामा मान्छे थपे आम्दानी समेत बढ्ने बताउँछन् । उनले भने, ‘म अहिले दिनभरिमा कमै भाँडो बनाउन पाउँछु । यो कामको लागी मान्छे अलि बढि नै चाहिन्छ । एक जनाले माटो मिलाउने अर्कोले भाडो बनाउने र कम्तिमा २ जना आगोको अबा लगाउनलाई चाहिन्छ । एक जना बजारमा लगेर बेच्नलाई चाहिन्छ । मान्छे बढि हुँदा सामान बढि बन्छ र आम्दानी पनि बढि हुन्छ ।’
पंडितले युवाहरुलाई आफ्नै देशमा रोक्न विभिन्न योजनाहरु ल्याउनुपर्ने बताउँछन् । उनले युवाहरुलाई आफ्नै देशमा व्यवसाय तथा अन्य कार्य गर्ने वातावरण मिलाई दिए उनीहरुलाई आफ्नो देश छाडेर अन्य कतै नजानुपर्ने बताउँछन् । उनी भन्छन्, ‘आफ्नो देश छाडेर विदेश काम गर्न जाँदा धेरै पिडा हुन्छ । काम अनुसारको पैसा पनि पाउँदैन भने आफ्नो परिवारसँग वर्षौसम्म टाढा बस्नु पर्छ । सरकारले आफ्नै देशमा काम गर्ने वातावरण निर्माण गरिदिए युवाहरुलाई अन्य देशमा गएर पिडा भोग्नुपर्ने थिएन् ।’