Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, पुस २० गते ।

सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

आन्दोलनकारीले उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको दावी गरेका छन् ।

तर प्रहरीले गोली लागेर नै उनको मृत्यु भएको भन्ने पुष्टि गरेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको बुझ्न नसकेको प्रजिअ धमलाले बताए ।

प्रहरीले आक्रमक आन्दोलनकारी भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए ।

प्रजिअ धमलाका अनुसार झडपको क्रममा ८ जना प्रहरी र दुईजना स्थानीयसहित १० जना घाइते भएका छन् ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । अअिले आन्दोलनकारीको ठूलो भीडले शव नियन्त्रणमा राखेर प्रदर्शन उग्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!