सामाजिक फीड–
जनकपुरधाम, पुस १९ गते ।
भारत उत्तर प्रदेशको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरबाट बाजागाजा सहित भार ९पाहुर० पठाइएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा आज जनकपुरधामबाट अयोध्या भार यात्राको माध्यमले भार पठाइएको हो। जनवरी ६ तारिखका दिन अयोध्यास्थित रामजन्म भूमि तिर्थ ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छोटो महन्थ रामरोशन दास वैष्णवले बताए । पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेको छ ।
जनकपुरधामबाट महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवाबाट सिम्रौनगढ हुँदै गढीमाइ दर्शनपछि वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको उनले बताए । विरगञ्जमा वास बसेको भोली पल्ट निस्किने भार यात्रा भारतको बेतिया, कुशी नगर, सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको छोटो महन्थ रोशनले जानकारी दिए ।
बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राममन्दिरका लागि प्रस्थान गरेका छन् । भार निस्किनु अघि जानकी मन्दिर प्रांगणनमा सर्वसाधारणदेखि लिएर मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए ।
मुख्यमन्त्री यादवले भार कार्यक्रमका लागि जानकी मन्दिरको हरेक कार्यक्रममा सहयोग गर्न तयार रहेको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट पुस्तिका बाहेक अन्य कुनै ठाउँमा बजेट खर्च नगर्न निर्देशन सहितको पत्र पठाएकाले जानकी मन्दिरलाई सहयोग गर्न नसकेको बताए । जानकी मन्दिरले भारका लागि प्रदेश सरकारसँग ५० लाख रुपैयाँ माग गरेपनि मुख्य सचिवलाई आफूले सक्दो सहयोग गर्न निर्देशन दिएको जानकारी दिए ।