तेहरान । इरानमा भएका दुई बम विष्फोटमा १ सय ३ जनाको मृत्यु भएको छ । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भिडमा बुधबार लगातार दुई वटा विस्फोट भएको अन्तरार्ष्टिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अन्य एक सयभन्दा बढी घाइते भएका छन् ।
१० मिनेटको अन्तरालमा दुई वटा विष्फोट भएको बताइएको छ । सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिदनजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा उहाँलाई गाडिएको छ । सन् २०२० मा बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको थियो । हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू जम्मा भएका थिए ।
केरमानका उप गभर्नरले विस्फोटलाई ‘आतङ्कवादी हमला’ भनेका छन् । सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो ।
जीवित रहँदै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीद्वारा ‘जीवित शहीद’ घोषणा गरिएका सुलेमानीलाई इराक र सिरिया दुवैमा इस्लामिक स्टेट जिहादी समूहलाई हराउन उनको भूमिकाका लागि नायकका रूपमा लिइन्छ ।