सामाजिक फीड-
जनकपुरधाम, पुस १५ गते ।
अवैध रुपमा नदी उत्खननको सिफारिस दिएको आरोपमा पक्राउ परेका परेका सिरहाको कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष नगर प्रमुखको जमानतमा रिहा भएका छन् ।
उनलाई कानुनी प्रक्रियाअन्तर्गत् आवश्यक परेका बेला उपस्थित हुने गरी नगर प्रमुख भोलाप्रसाद पोखरेलको जमानतमा आइतबार वन डिभिजन वन कार्यालय लहानले रिहा गरेको हो । उनलाई गत शुक्रबार डिभिजन वन कार्यालय लहानको टोलीले पक्राउ गरेको थियो ।
उनी पक्राउको विरुद्धमा शनिबार अपराह्न नगर प्रमुखको नेतृत्वमा स्थानीय बासिन्दाले बन्दीपुरमा चक्काजाम गरेका थिए ।
डिभिजन वन कार्यालय लहानले वडाध्यक्षविरुद्ध लगाइएको आरोपको अनुसन्धान गर्न वन अधिकृत आविद हुसैनलाई अनुसन्धान अधिकृत तोकेको छ । वन अधिकृत आविद हुसैनले मुलुकी फौजदारी कार्यविधि संहिता, ऐन २०७४ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी जमानतमा छोडिएको बताए ।
कर्जन्हा नगरपालिका–१ बल्टियाको चुरे वनक्षेत्रमा कमला खोलाको बगरबाट प्रचलित ऐन, कानुनविपरीत सिफारिस गरी अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न सघाएको आरोपमा डिभिजन वन र सब(डिभिजन वनको टोलीले वडाध्यक्ष पोखरेललाई शुक्रबार पक्राउ गरी लहानस्थित डिभिजन वनको हिरासतमा राखिएको थियो ।