समाजिक फीड
जनकपुरधाम, पुस १२ गते ।
मिटरब्याजी अभियुक्त श्याम निरौलाले दुई जना पीडितलाई कुटेपछि मिटरब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका छन्। सिरहा जिल्ला अदालत परिसरमा सुरक्षाकर्मीकै अगाडी उनले महिलालाई कुटपिट गर्दा समेत प्रहरीले वास्ता नगरेको भन्दै पिडितहरु आन्दोलित भएका हुन् । बकपत्रका लागि अदालत पुग्दा मिटरब्याज अभियुक्त निरौलाले पीडितद्वय सकुन्ती यादव र सुकुमारी साहलाई कुटपिट गरेको आरोप छ। प्रहरीले निरौलाविरूद्ध जाहेरी दर्ता गर्न आनाकानी गरेको भन्दै पीडितहरू चिसोमा कार्यालय अगाडि धर्नामा बसेका थिए ।
मिटरब्याज पीडित संघर्ष समितिका संयोजक पासवानका अनुसार अदालतमै पीडितमाथि कुटपिट हुँदा प्रहरीले मिटरब्याजीलाई जोगाएर गाडीमा जिल्ला प्रहरी ल्याएका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । उल्टै लाठीचार्ज गर्दै धपाउने भनेर प्रहरीले धम्काएपछि रातभरि धर्ना बसेको उनको भनाइ छनिरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए । निरौलालाई बुधबार अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसपी लिम्बुले बताए ।
‘साँझ ६ बजे धर्ना बस्न खोजेपछि एकजना इन्सपेक्टर आएर लाठीचार्ज गरेर धपाउँछु भनेर हामीलाई धम्कायो अनि त्यहिबेला हामीले निर्णय लियौं जबसम्म जाहेरी दर्ता गर्दैनौ, त्यतिबेलासम्म धर्ना बसिरहन्छौं । अनि रातभर धर्ना बसेपछि आज बिहान ७ बजे जाहेरी दर्ता गर्यो,’ पासवानले भने ।
एसपी लिम्बुले भने पीडितलाई कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु विनाऔचित्य रातभर धर्ना बसेको बताए । ‘कुटपिट गर्नेलाई हिजै नियन्त्रणमा लिइसकेका थियौं । हिजो अबेला भएको कारण भोलि जाहेरी लिएर आउनुस् हामी दर्ता गर्छौं भन्दा मान्नुभएन । राति जाहेरी पनि लिएर अउनु भएको थिएन । रातभरि यतिकै धर्ना बस्नुभयो । अहिले अफिस खुलेपछि १० बजे जाहेरी दर्ता गरेका हौं । अब अदालत लगेर निरौलाको म्याद थप गराउँछौंं,’ एसपी लिम्बुले भने ।
पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए । छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवान बताउँछन् ।