Samajik Feed – News Portal from Nepal


समाजिक फीड

जनकपुरधाम, पुस ११ गते ।

बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य सुटर सुजित सिंह नेपालमा मात्र नभई भारतीय प्रहरीको पनि मस्ट वान्टेड सूचीमा रहेको खुलेको छ ।

उनी कन्ट्र्याक्ट किलर रहेको जिल्ला प्रहरी बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार रौतहटका विभिन्न क्षेत्रमा पछिल्लो पाँच वर्षको अवधिमा भएको आपराधिक घटनाहरूमा सिंहको संलग्नता थियो ।

बराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट राति ८ बजे मुख्य सुटर मानिएका ३२ वर्षीय सिंहलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताए ।

पक्राउ परेका सिंह भारत बिहार मोतीहारी जिल्लाको छोडादारका हुन् । दुबै खुट्टामा गोली लागेर घाइते सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

डिएसपी न्यौपानेका अनुसार ४ जनाको समूहमा नेपाल छिरेको भन्ने सूचनाको आधारमा प्रहरीले पछ्याएको थियो । भाग्न थालेपछि उनको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको दुवै खुट्टामा गोली लागेको जनाएको छ ।

गत कार्तिक १३ गते प्रिन्सीपल स्वर्णकारको गोली दागेर हत्या भएको थियो । घटनाको तीनदिन पश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यसअघि पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह छन् । घटनामा ८ जनाको संलग्नता रहेको प्रहरीले बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!