समाजिक फीड-
जनकपुरधाम, पुस १० गते ।
धनुषामा दुई जना महिलाको शव फेला परेको महिना दिन हुन लागदा पनि पहिचान खुल्न सकेको छैन ।
नेपाल र भारतका विभिन्न निकायमा समन्वय गर्दा पनि उनीहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत मंसिर १२ गते धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो।
शवको प्रकृतिले उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव गल्न सुरु भइसकेपछि मात्रै प्रहरीले थाहा पाएको थियो ।
त्यसैगरि मंसिर १७ गते मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा अन्दाजी ३५ वर्षीया महिलाको शव भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार घाँस काट्न गएकी महिलाले शव देखेपछि गाउँमा आएर जानकारी गराएकी थिइन्।
‘उनले रातो साडी र हातमा रातो पहेँलो रंगको लहठी लगाएकी थिइन् । अनुहार सुन्निएर कालो देखिएको थियो । सबैतीर फोटो पठायौँ तर कसैले चिनेको भनेको छैन्,’ उनले भने ।
दुबै शवको पहिचानका लागि प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक उपेन्द्र खरेलले बताए ।
‘नेपाल भारतका काउण्टरपार्ट मिटिङमा भारतीय सुरक्षा अधिकारीलाई पनि यी शवबारे जानकारी गरायौँ । हाम्रो देशका सबै प्रहरी कार्यालयमा फोटो पठाइदिएका छौँ तर अहिलेसम्म पहिचान खुलेको छैन,’ उनले भने ।