Samajik Feed – News Portal from Nepal

सिरहा, ८ पुष । सिरहाको मिर्चैयामा जारी मिथिला लोक चित्रकला प्रतियोगिता–२०८० सम्पन्न भएको छ । मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगको आयोजनमा पुष २ गते सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा चित्रकार रुवी कर्ण प्रथम, नेहा दास द्वितीय र बिना कर्ण तृतीय भएका छन् । उनीहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार दिइएको छ ।

प्रतियोगिताको अन्तिम चरणमा १५ चित्रकार सहभागी भएका थिए । जसमध्ये १२ जनालाई जनही ११ हजारका दरले सान्त्वना पुरस्कारसहित प्रमाणपत्र दिइएको छ । सान्त्वना पुरस्कार पाउनेमा सरस्वतीकुमारी महतो, सोनमदेवी कर्ण, हिरादेवी कर्ण, पुनमकुमारी देवी, राखीकुमारी, सुमन कुमारी, राजकुमारी खत्वे, पुनम झालगायत छन् । यसअघि प्रतियोगितामा सहभागिताका लागि तीन सय चित्रकारले फारम भरेका थिए । जसमध्ये दोस्रो चरणका लागि ७५ चित्रकारलाई छनोट गरिएको थियो ।

अन्तिम राउण्डका लागि भने १५ चित्रकारलाई छनोट गरिएको थियो । छनोट गरिएका १५ जनाले बिगहौँमा फैलिएको उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका हुन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा चित्रकार सुनैना ठाकुर, कार्यक्रम संयोजक एवम् निर्णायक श्यामसुन्दर यादव, तेजकुमार बस्नेत तथा वाणिज्य उद्योग तथा खानीका उपाध्यक्ष राजन झा रहेका थिए ।

प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले पहिचान, लोक गाथा र स्वास्थ्यसँग जोडिएका मिथिला चित्रकला तथा मिथिलाको खानपानलाई जोगाउन भरपुर प्रयास गरिने बताइन् । यसका लागि मधेश प्रदेश सरकारले बजेट छुट्याएको पर्यटनमन्त्री यादवले जनाइन् ।

कार्यक्रममा साहित्यकार प्रा.डा. राजेन्द्र विमलले महिला हिंसा, बालात्कार जस्ता अन्य आपराधिक घटनालाई जोडेर मिथिला चित्रकला बनाउन चित्रकारहरूलाई सुझाव दिए । तराई मधेशको पहिचानलाई थप उचाईमा पु¥याउनुका साथै रोजगारीसमेत सृजना गर्ने भएकाले कला क्षेत्रलाई मधेश प्रदेश सरकार र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले मजदुर र जग्गावालासँग विगतमा भएका सहमतिलाई व्यवहारमा लागू गर्न सौर्य सिमेन्ट उद्योगलाई आग्रह गरे । स्थानीय व्यक्तिलाई रोजगारी सृजना हुनेतिर विषेश ध्यान दिन पनि उद्योगका सञ्चालकसँग आग्रह गरेका थिए ।

प्रतियोगिता सञ्चालनका लागि सुनैना मिथिला आर्ट ग्यालरीकी सुनैना ठाकुर, मिथिला चित्रकलाकर्मीद्वय श्यामसुन्दर यादव र मिथिला यादवले उद्योगसँग समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!