Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस ८ गते ।


धनुषाको हंसपुर नगरपालिका–५ स्थित सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा तीनजना विरुद्ध किटानी जाहेरी परेको छ । मृतक मण्डलको कुटपिटमा संलग्न रहेको आरोपमा तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रंजन अवाका अनुसार मृतक मण्डलको कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँका ४० वर्षीय शंकर ठाकुर, उनका छोरा राम ठाकुर र ज्वाइँ श्याम ठाकुरमाथि कर्तव्य जान मुद्दामा जाहेरी परेको हो । बिहीवार राती भएको विवादमा तीनैजना मिलेर कुटपिट गर्दा मण्डलको मृत्यु भएको परिवारजनको आरोप छ ।

कुटपिटका आरोपी शंकरलाई प्रहरीले घटना भएकै राति पक्राउ गरिसकेको छ भने उनका छोरा र ज्वाइँको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीवार राती शंकरले छोरा र ज्वाइँसँग मिलेर कुटपिट गर्नुका साथै इँटा प्रहार गरी मण्डलको टाउको फुटाएको मृतक परिवारको आरोप छ ।

मण्डल त्यहाँबाट भागेर इलाका प्रहरी कार्यालय सुगानिकास पुगेका थिए, तर प्रहरीले उल्टै मृतक मण्डललाई कुटपिट गरेको भन्दै शुक्रबार विहानैदेखि स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरे । डिएसपी अवाले भने मृतक परिवार र स्थानीयलाई प्रहरीले कुटेको भनी भ्रम भएकाले आन्दोलन भएको बताए ।

अवस्था तनावग्रस्त भएपछि आन्दोलन नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । एकनजाको अवस्था सामान्य रहेको छ भने अर्का एकजना ३५ वर्षीय शिवशंकर मण्डललाई बायाँ हातमा गोली लागेको छ ।

हंसपसपुर नगरपालिका ५ कै अरुण मण्डलका १२ वर्षीय छोरा अमित मण्डलले दुईतीन दिनअघि आफ्नै सानीआमा (मौसी) घरबाट पाँच हजार रुपैयाँ चोरी गरेको विषयमा दिपा र स्थानीय शंकर ठाकुरबीच विवाद भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले इलाका प्रहरी कार्यालयका सई बालमुकुन्द ठाकुरलाई यसअघि नै जिल्ला प्रहरी कार्यालयमा तानिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!