सामाजिक फीड-
जनकपुुधाम, पुस ८ गते ।
गौशाला नगरपालिकाकी उप–मेयर रेणु महतो चढ्ने गाडीमा आगजनी गरिएको छ । महोत्तरी स्थित गौशाला नगरपालिकाकी उप–मेयर महतोले चढ्ने गाडी घरमै लगाई राखेको अवस्थामा आगजनी गरिएको हो ।
आइतबार राति ३ बजेमा आगजनी गरेको बेला आगो बलिरहेको समयमा स्थानीय राजकिशोर महतोले देखेपछि जानकारी गराएका थिए । गएराति रामनगर स्थित घरको परिसरमा राखिएको प्र २–००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेको हो ।
घरको अगाडी राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका केही भागमा क्षति आंशिक पुगेको हो ।
गाडीको घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ‘गाडीमा कसले र किन आगो लगाइएको भन्ने विषयमा केही खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाइएको छ । घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक मनोज यादवले भने, ‘अगाडी र पछाडीको टायरसहित आंशिक भागमा क्षति भएको छ ।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।