Samajik Feed – News Portal from Nepal

सिरहा, १९ मंसिर । बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सिरहाका व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । बैंक तथा लघुवित्तको चर्को ब्याज किस्ता तिर्न असमर्थताका साथै राष्ट्र बैंकको अव्यावहारिक नीतिविरुद्ध भन्दै सिरहाको मिर्चैयाका व्यापारीहरूले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका हुन् ।

चर्को ब्याज असुली गरेको आरोप लगाउँदै उनीहरूले एनआईसी एसिया बैंक अगाडि केही दिनदेखि लगातार धर्ना दिइरहेका छन् । मंगलबार पनि उनीहरूले धर्ना दिएका छन् । विगतमा छ–सात प्रतिशत रहेको ब्याज १७–१८ प्रतिशत पुर्‍याउँदा आफूहरू तनावमा रहेको व्यवसायीहरूले बताएका छन् ।

बैंकले किस्ता तिर्न बारम्बार फोन गरी मानसिक तनाव दिन थालेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । उनीहरूले बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक पनि मौन भएर बसेकाले बैंकले मनोमानी रूपमा ब्याज बढाइरहेको पनि आरोप लगाएका छन् । राष्ट्र बैंकले प्रभावकारी ढङ्गले नियमन र नियन्त्रण नगर्दा बैंकले चर्काे ब्याज लिइरहेको पनि उनीहरूको दाबी छ ।

व्यवसायीहरूले बैंकको ब्याज एकल अंकमा कायम गर्नुपर्ने, कर्जा प्रवाह गर्दा बैंकहरूले विभिन्न शीर्षकमा सेवा शुल्क लिन नहुने, धितो लिलामी प्रक्रिया २०७९ चैतसम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपो एक प्रतिशतमा झार्नुपर्नेलगायतका माग राखेका छन् ।

उनीहरूले ब्याजको किस्ता तिर्ने समय बढाउनुपर्ने, तीनपुस्ते कालोसूची गर्न रोक्नुपर्ने, लिलामी प्रक्रिया बन्द गर्नुपर्ने, राष्ट्र बैंकको नीतिगत भ्रष्टाचार बन्द गर्नुपर्ने, आर्थिक संकटकाल घोषणा गर्नुपर्ने, अनावश्यक जरिवाना–शुल्क फिर्ता गर्नुपर्ने, मानसिक यातना दिने कार्य बन्द गर्नुपर्ने, चालु पुँजी निर्देशिका खारेज गर्नुपर्नेलगायत पनि माग गरेका छन् ।

चर्को ब्याज असुली गरेर वित्तीय संस्थाहरूले व्यापारीहरूलाई आत्महत्या गर्न बाध्य पारिरहेको पनि व्यापारीहरूले गुनासो गर्दै आएका छन् । माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने पनि मिर्चैयाका व्यवसायीहरूले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!