भारत, १९ मंसिर । भारतको चर्चित टेलिश्रृंखला ‘सीआईडी’ मा फ्रेडरिकको भूमिका निर्वाह गर्दै आएका अभिनेता दिनेश फडनिसको निधन भएको छ । आइतबारदेखि अस्पतालमा रहेका ५७ वर्षीय फडनिसको सोमबार राति निधन भएको उनका सल्लाहकार दयानन्द शेट्टीले पुष्टि गरेका हुन् ।
दयाले भने, ‘दिनेशको बिहान १२.०८ बजे अन्तिम सास फेरे ।’ अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ ।
दयाले दिनेशको निधन ‘मल्टिपल अर्गन फेल’को कारणले भएको पनि बताए । यसअघि आइतबार हृदयघात भएको खबर आएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो । पछि दयाले यो कार्डियक अरेस्ट नभएर कलेजोमा क्षति भएको जानकारी दिए ।
सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बनेका थिए । उनले लोकप्रिय सिरिज तारक मेहता का उल्टा चश्मामा पनि उपस्थिति देखाए र सुपर ३० र सरफारोस जस्ता फिल्ममा सहायक भूमिका खेलेका छन् ।
उनको अन्तिम संस्कार आज मुम्बईमा गरिनेछ ।