Samajik Feed – News Portal from Nepal

एजेन्सी । इजरायलले गाजाको दक्षिणी क्षेत्रमा पनि आक्रमण सुरु गरेको छ । यस क्षेत्रमा हमासका नेताहरू लुकेको आशंका गर्दै इजरायली सेनाले आक्रमण सुरु गरेको हो । इजरायली सेनाले गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रसमेत खाली गर्न आदेश जारी गरेको छ ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर अघि बढिरहेका छन् । युद्धविरामपछि इजरायली सेनाले दक्षिणी गाजामा हवाई आक्रमण पनि सुरु गरेको छ । इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । गाजाका अधिकांश नागरिक सुरक्षाको खोजीमा दक्षिणतिर भागेका थिए । तर, यस क्षेत्रमा पनि इजरायलले आक्रमण गर्न थालेको छ ।

इजरायली सेनाले शनिबार राति खान युनिस र दक्षिणी सहर रफाह क्षेत्रका साथै उत्तरका केही भागहरूमा भारी हवाई र स्थल आक्रमण गरे । हमलमा सात प्यालेस्टाइनीको मृत्यु भएको थियो । यसै क्रममा आइतबार बिहान खान युनुसको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

शहरी शरणार्थी शिविर जबलियामा शरण खोज्दै आएकी अमल रडवानले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हाम्रो चारैतिर लगातार विस्फोटको आवाज सुनिन्छ। यहाँको अवस्था डरलाग्दो छ । मृत्यु जताततै छ। एकैछिनमा जो कोही मर्न सक्छ ।’

यसैबीच, गाजामा पुनः युद्ध भइरहेका बेला अमेरिकाले इजरायललाई संयमता अपनाउन दबाब दिएको छ । उपराष्ट्रपति कमला ह्यारिसले गाजामा धेरै निर्दोष प्यालेस्टाइनी मारिएको बताइन् । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले निर्दोष नागरिकको सुरक्षा गर्ने इजरायलको नैतिक जिम्मेवारी रहेको बताएका छन् । हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुनेको कुल संख्या १५ हजार २०० भन्दा बढी पुगेको बताएको छ। मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ४० हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!