काठमाडाैँ, १५ मंसिर । नेपालकाे प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ दि इयर’ को अन्तर्राष्ट्रिय उपाधि पाएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका दि बैंकरले सन् २०२३ को बैंक अफ दि इयरबाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।
बैंकले विज्ञप्ति जारी गरी ‘बैंक अफ दि इयर-२०२३ को उपाधि प्राप्त गर्न सफल भएको सुखद् खबर बाँड्न पाउँदा अत्यन्त उत्साहित भएको जनाएको छ । बेलायतमा बिहीबार साँझ भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान प्राप्त गरेको जनाइएको छ । सन् २००० देखि दि बैंकरले गर्दै आएको बैंक अफ दि इयर अवार्ड विश्वव्यापी बैंकिङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।
बैंक अफ दि इयर अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् बैंकिङ उद्योगको ओस्कार मानिन्छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरुको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।’
‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । प्रभु बैंकका ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएम र ३१ लाख सेवाग्राही रहेको जनाइएको छ ।