काठमाडाैँ, १३ मंसिर । मलेसियास्थित आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । नेपालमा व्यवसाय गर्न कठिनाइ भएको औंल्याउँदै सो समूहले एनसेलबाट आफ्नो स्वामित्व फिर्ता लाने घोषणा गरेको हो ।
नेपालमा चुनौती बढेकाले कम्पनीको सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका छन् । यो घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको उनले बताएका छन् । कम्पनीले तेस्रो त्रैमाशको कार्यसम्पादनको चर्चा गर्दा जारी गरेको स्टेटमेन्टमा यस्तो उल्लेख गरेको छ।
‘नेपालको परिदृश्य चुनौतीपूर्ण देखिएको छ, त्यसैले हाम्रो सञ्चालक समतिले नेपालबाट बाहिरीने निर्णय गरेको छ,’ आजियटा समूहका प्रमूख कार्यकारी अधिकृत विवेक सुदले भने, ‘यही क्रममा बिक्रीको लागि राखिएको सम्पत्तिको रूपमा एनसेललाई वर्गिकरण गर्नेछौँ । ’
यस्तो कदमले आजियाटा आफ्नो रणनीतिक प्राथमिकता कार्यान्वयनमा थप बलियो बन्दै जाने र यसले आफ्ना सेयर लगानीकर्ताको दीर्घकालीन हित गर्नेसमेत उल्लेख गरिएको छ।
आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत र बाँकी २० प्रतिशत सेयर स्वामित्व नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।
यसअघि स्विडिस कम्पनी टेलिया सोनेराले बिक्री गरेको सेयर आजियाटाले किनेको थियो । सन् २०२२-२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रूपैयाँमा सीमित भएको छ । कम्पनीले २०२१-२२ मा ३९ अर्ब ७२ करोड, २०२०-२१ मा ४० अर्ब ४२ करोड र २०१९-२० मा ४६ करोड ८७ लाख रूपैयाँको कारोबार गरेको थियो ।
एनसेलबाट बाहिरिने निर्णयका साथ आजियाटाले आफ्नो सबै सेयर बिक्रीमा राखेकोसमेत जनाएको छ ।