Skip to main content

उदयपुर, १३ मंसिर । सरकारी दस्तखत कीर्ते गरेको कसुरमा उदयपुरको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायव सुब्बालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नायव सुब्बा ४७ वर्षीय गुरुप्रसाद ढकाललाई पक्राउ गरेको हो ।

नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको कीर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो । उजुरी परेपछि सम्पर्कविहीन रहेका ढकाललाई प्रहरीले खोजी गरेर पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

नगर प्रमुख वशन्तकुमार बस्नेतले ढकालले त्रिनपाको राजस्व शाखामा रहँदा विभिन्न जनप्रतिनिधिका नाममा कीर्ते हस्ताक्षर गरेर गलत आर्थिक गतिविधि गरेको अख्तियारमा उजुरी परेपछि पक्राउ गरी कारबाही गर्न अख्तियारको पत्र आएकामा प्रहरीले सोहीका आधारमा पक्राउ गरेको बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार ढकालविरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *