भारत । भारतको उत्तरकाशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ मजदुरको १७ औँ दिनमा सकुशल उद्धार गरिएको छ । मंगलबार साँझ सबै कामदारलाई सकुशल बाहिर निकालिएको हो । उद्धारकर्ताहरूले मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकालेका थिए ।
उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिन्यालीसौरको स्वास्थ्य केन्द्रमा लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ। उनीहरूलाई स्वागत गर्न उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र केन्द्रीय मन्त्री भीके सिंहलगायत उपस्थित भएका थिए । मजदुरहरूलाई फूलको माला लगाएर स्वागत गरिएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिएका छन् । ‘उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको छ’ मोदीले लेखेका छन् ।
यो सुरुङमा थुनिएका ४१ कामदारले करिब ४०० घण्टापछि आज खुल्ला हावामा सास फेर्न पाए । नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिल्क्यरादेखि डण्डालगाउँसम्म निर्माणाधीन सुरुङमा एक भाग भत्किएर मजदुरहरू फसिरहेका थिए ।
उनीहरूलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको थियो । मजदुरहरूलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले ड्रिल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो । यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिइएको थियो ।