Samajik Feed – News Portal from Nepal

भारत । उत्तराखण्डको उत्तरकाशीको निर्माणाधीन सुरुङमा फसेका ४१ मजदुरलाई अबको केही घण्टाभित्रै सकुशल बाहिर निकालिने भएको छ । आज १७ औँ दिन उद्धार कार्य अन्तिम चरणमा पुगेको हो । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केही घण्टाभित्र मजदुरहरूलाई निकाल्ने दाबी गरेका हुन् । प्राप्त जानकारीका अनुसार सुरुङ अब दुई मिटर मात्र खन्न बाँकी रहेको र पाइप बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएका सदस्य लेफ्टिनेन्ट जनरल सैयद अता हसनैनले भने, ‘सुरुङभित्र ४१ जना र बाहिर धेरै व्यक्तिहरू छन् । उद्धार कार्यमा संलग्नहरूको सुरक्षा पनि उत्तिकै महत्वपूणर् छ । हामी कुनै हतारमा छैनाैँ ।’ एनडीएमएले ५८ मिटर ड्रिलिङ भइसकेको, करिब २ मिटर खन्न बाँकी रहेको पनि जानकारी दिएको छ ।

कामदार बाहिर निस्केलगत्तै उनीहरूलाई सिधै चिन्यालीसौरको स्वास्थ्य केन्द्रमा ल्याइनेछ । न्यूज एजेन्सी एएनआईले स्वास्थ्य केन्द्रभित्रको तस्बिर पनि शेयर गरेको छ । जसमा कामदारका लागि बेड तयार पारिएको बताइएको छ । यो सुरुङमा थुनिएका ४१ कामदारले आज खुल्ला हावामा सास फेर्ने भएका छन् । एम्बुलेन्स र डाक्टरहरू सुरुङ बाहिर तयार छन् । यहाँ पुगेका मजदुरका परिवारजनहरू बाहिर व्यग्र प्रतीक्षामा छन् । सुरुङबाट बाहिर निस्कन पर्खिरहेका मजदुरका लागि सुरुङभित्रै अस्थायी स्वास्थ्य सुविधाको पनि व्यवस्था गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार कामदारहरूलाई बाहिर निकालेपछि उनीहरूको प्रारम्भिक स्वास्थ्य सेवा यही ठाउँमा दिइनेछ । कुनै समस्या परेमा चिकित्सक र विज्ञको टोली त्यहाँ खटाइनेछ । स्वास्थ्य विभागले सुरुङभित्र ८ सैयाको व्यवस्था गरेको छ । उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिल्क्यरादेखि डण्डालगाउँसम्म निर्माणाधीन सुरुङमा आइतबार पहिरो खसेपछि यी मजदुर अलपत्र परेका हुन् । सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् ।

उनीहरूलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ । उनीहरूलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम गरिएको छ । यसअघि मजदुरहरूलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले ड्रिल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!