सामाजिक फीड-
जनकपुरधाम, फागुन १७ गते ।
मध्यपूर्वी क्षेत्रमा उत्पन्न भएको तनावपछि नेपाल सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । इजरायल, अमेरिका र इरानबीच सुरु भएको युद्धका कारण सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।
बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बताए । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेको अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ ।
इरानले युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण गरिरहेको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको मन्त्री भण्डारीले बताए ।
सरकारले सम्बन्धित देशमा जान विमानस्थलमा बसेकाहरुलाई फर्केर आफ्नो घर जान अनुरोध गरेको छ ।
तनाव बढ्दै गएको खण्डमा सरकारले नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आए त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।