सामाजिक फीड-
जनकपुरधाम, फागुन १७ गते ।
मध्यपूर्वी क्षेत्रमा उत्पन्न भएको तनावका कारण नेपालका १८ वटा फ्लाइट रद्द भएका छन्।
अमेरिका(इसराइल र इरानबीच भइरहेको तनावका कारण विश्वभरिका उडानहरू प्रभावित हुँदा नेपालमा समेत त्यसको प्रभाव परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भहुँदा करिब ३ हजार यात्रुलाई असर परेको छ।
उनका अनुसार नेपाल एयरलाइन्सको तीन वटा उडानहरू काठमाडौंदेखि दमाम, काठमाडौंदेखि दोहा र काठमाडौंदेखि दुबई उड्ने उडान रद्द भएका थिए। यी फ्लाइटमा ५०० यात्रु रहेको थिए ।
त्यस्तै कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका थिए।
यस्तै, फ्लाइ दुबईको चार वटा उडान रद्द हुँदा करिब ६०० यात्रु, एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइटका करिब ३०० यात्रु, दमाम जाने हिमालय एयरलाइन्स ३ वटा फ्लाइटका करिब ५०० यात्रु र कुवेत जाने दुई वटा फ्लाइटमा ३०० यात्रु प्रभावित भएका प्राधिकरणले जनाएको छ ।
शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा उडान रद्द भएपछि घन्टौं बसेर यात्रुहरु पुनः घर फर्किएका थिए।
इरानले ड्रोन हमला गर्दा दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ।
खाडीका विभिन्न मुलुकहरू इरान(इसराइल तनावको चपेटामा परेपछि त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
सूचना अधिकारी भूलले आइतबार पनि उडानहरू प्रभावित हुनसक्ने जानकारी दिए।
कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द रहेको उनले बताए ।
उनका अनुसार आज पनि करिब १४ वटा फ्लाइट रद्द हुने सम्भावना छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।