Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २७ गते ।

रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले मृतक संख्या ९ पुगेको जानकारी दिएका छन्।

सीडीओ थापाका अनुसार दुर्घटनास्थलमा खोजी गर्ने क्रममा थप तीन जनाको शव फेला परेको हो। यसअघि उपचारका क्रममा अस्पतालमा छ जनाको मृत्यु भएको थियो भने तीन वटा शव घटनास्थलमै फेला परेका हुन्।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस आज बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको उक्त बस सडकबाट खसेर नदीमा डुबेको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि मन्थली र खुर्कोट अस्पताल पठाइएको छ। अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जना यात्रुले टिकट काटेका थिए। बाटोबाट थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा यकिन हुन बाँकी रहेको छ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले अझै पनि नदीमा खोजी कार्य जारी राखेको सीडीओ थापाले बताएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *