Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २६  गते ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। पुल नहुँदा बारम्बार दुर्घटना भएर ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले आज बिहान अधुरो पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका हुन् ।

प्रदर्शनका क्रममा स्थानीयले ठेकेदार, प्रशासन र सम्बन्धित निकायविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरूका अनुसार पुल नबन्दा दैनिक आवतजावत जोखिमपूर्ण बनेको छ र निर्दोष नागरिकले ज्यान गुमाइरहनुपरेको छ। स्थानीय दिपेन्द्र यादवले पुल निर्माण अलपत्र रहँदा दुर्घटना नियमितजस्तै भएको बताए।

वर्षायाममा समस्या झनै गम्भीर हुने गरेको स्थानीय लक्ष्मीप्रसाद यादवको भनाइ छ। उनका अनुसार खोलामा बाढी आएपछि बाटो पूर्ण रूपमा बन्द हुन्छ, जसले सर्वसाधारणको दैनिकी कष्टकर बनाउँछ। करिब चार वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको गम्भीर लापरबाही भएको उनको आरोप छ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा र सिरहा नगरपालिकासम्मका नागरिक प्रत्यक्ष प्रभावित भएको बताए। पटक–पटक ठेकेदारसँग छलफल भए पनि काम अघि नबढेको उनको भनाइ छ।
सहजा खोलामा पुल तथा कल्भर्ट निर्माणको ठेक्का २०७९ साल माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा।लि।, महेन्द्रनगर धनुषाले पाएको थियो। सम्झौता अनुसार म्याद सकिएर एकपटक थप भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीले करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ भने भौतिक प्रगति ३९ प्रतिशतमा मात्र सीमित छ। दरैयामा निर्माण हुने बक्स कल्भर्टको काम त सुरु नै भएको छैन।

हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले ठेकेदार हाल सम्पर्कविहीन रहेको बताए। एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने तयारी भइरहेको उनले बताए। उनका अनुसार सिरहामा हुलाकी सडक अन्तर्गत रहेका पाँच योजनामध्ये लगदीगढियानी सडकको काम मात्र अघि बढेको छ भने बाँकी योजनाको सुरुवात कहिले हुने भन्ने अझै अन्योलमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *