उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उलंघन गरेपछि निर्वाचन आयोगले उम्मेदवारहरुसँग स्पष्टीकरण सोधेको छ ।
आगामी फागुन २१ मा हुन लागेको निर्वाचनकालागी उम्मेदवार दर्ता भइसकेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।
आयोग स्रोतका अनुसार, बालेनका अलावा एमाले सचिव महेश बस्नेत र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि स्पष्टीकरण सोधिएको छ । एमाले अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा गरेको पोस्टमा हत्यारा भनेर गरेको टिप्पणीका सन्दर्भमा बालेनलाई स्पष्टीकरण सोधिएको हो ।
प्रधानमन्त्रीका दाबेदारहरूबीच डिभेडको विषयमा बालेनले ओलीको स्टाटसमा कमेन्ट गर्दै अमर्यादित शब्द प्रयोग गरेका थिए । यस्तै, बालेनले जनकपुरधाममा आफुलाई मधेशको छौरा भनेकोमा त्यसलाई छाउरा भनेको लगायतका विषयमा महेश बस्नेतलाई स्पष्टीकरण सोधिएको छ ।
हर्क साम्पाङले चुनावमा बालबालिका प्रयोग गरेको तथा पार्टीको टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको आयोग स्रोतले जानकारी दिएको हो । यस्तै, निकोलस भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको र जानुका पाठकलाई अन्य उम्मेदवारका सम्बन्धमा घृणाजन्य शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।
स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचारसंहिता लागू भएको स्थितिमा अधिवेशन गरेको र एक शिक्षकको सरुवा भएको विषयमा पनि स्पष्टीकरण सोधिएको हो ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।