Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १ गते ।

स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा फसेसँगै ठूला अस्पतालहरुले धमाधम यो सेवा रोक्न थालेका छन् । बीमा बोर्डबाट समयमै भुक्तानी नआएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा अन्तर्गतका सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
अस्पताल प्रशासनका अनुसार शोधभर्ना बापत पाउनुपर्ने रकम लामो समयदेखि नआएकाले बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको हो। यही कारण माघ १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम लागू नहुने जनाइएको छ। यस अवधिमा बीमामार्फत पाइने सबै सेवा स्थगित रहनेछन्।

कार्यक्रम रोकिँदा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गरेको छ। केन्द्रका कार्यकारी निर्देशक डा। रवि मल्लका अनुसार स्वास्थ्य बीमा बोर्डले भुक्तानीमा ढिलाइ गरेकै कारण सेवा बन्द गर्न बाध्य हुनुपरेको हो। उनका अनुसार केन्द्रले स्वास्थ्य बीमाबाट मात्रै करिब १४ करोड रुपैयाँ लिन बाँकी छ।
समस्या त्यतिमै सीमित नरहेको उनले बताए। बीमा बोर्डले विपन्न नागरिक उपचार कार्यक्रम पनि आफैं व्यवस्थापन गर्न थालेपछि जटिलता थपिएको डा। मल्लको भनाइ छ। कडा रोग लागेका बिरामीलाई एक लाख रुपैयाँसम्म सहयोग गर्ने विपन्न नागरिक औषधि उपचार कोषको रकमसमेत जोड्दा केन्द्रले झन्डै २५ करोड रुपैयाँ थप लिन बाँकी रहेको उनले जानकारी दिए।

पहिला विपन्न कार्यक्रमको दाबी सजिलै स्वीकृत हुन्थ्यो, अहिले बीमाले हेर्न थालेपछि प्रक्रिया झन्झटिलो बनेको र बक्यौता एकैचोटि बढेको डा। मल्लको भनाइ छ ।
यसअघि त्रिवि शिक्षण अस्पतालले पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय गरिसकेको छ। भुक्तानी संकट गहिरिँदै जाँदा अन्य ठूला अस्पतालहरूले समेत बीमा कार्यक्रम स्थगित गर्ने चेतावनी दिन थालेका छन्। बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ।

यस अवस्थाले बीमित नागरिकहरू उपचार सेवाबाट वञ्चित हुने जोखिम बढाएको छ भने दीर्घकालमा स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने चिन्ता पनि गम्भीर बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *