सामाजिक फीड-
जनकपुरधाम, पुस ३०गते ।
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन पक्षधर यी तीन पदाधिकारीले पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै कारबाहीको निर्णय गरेको हो। तर, कारबाहीको निर्णयसँगै भृकुटीमण्डपमा गगन-विश्वप्रकाश पक्षले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले आफूहरूसँग बहुमत महाधिवेशन प्रतिनिधि रहेको दाबी गर्दै सोही आधारमा नयाँ नेतृत्व चयनको तयारी गरिरहेका छन्।
यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कारबाहीको निर्णय भएपछि संस्थापन पक्ष पनि अब ‘वारपार’को अवस्थामा पुगेको संकेत देखिएको छ।
देउवा-खड्का नेतृत्वको संस्थापन पक्ष र गगन–विश्वप्रकाश नेतृत्वको विशेष महाधिवेशन पक्षबीच अब पार्टीको आधिकारिकता सम्बन्धी विवाद चर्किने सम्भावना बढेको छ। यस्तो अवस्थामा निर्वाचन आयोगले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी कानुनका आधारमा आधिकारिकता विवादको निरुपण गर्नेछ।
यद्यपि, निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्ट पक्षले सर्वोच्च अदालत जाने विकल्प खुला रहने भएकाले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद अझै केही महिना लम्बिन सक्ने जानकारहरू बताउँछन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।