सामाजिक फीड-
जनकपुरधाम, पुस ३०गते ।
नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख भएको छ । आज विहान भएको वार्तामा पार्टी सभापति शेरबहादुर देउवासँग सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको जानकारी दिँदै महाधिवेशन स्थल पुगेका छन् ।
बुधबार बिहान महाराजगन्जस्थित देउवा निवासमा भएको भेटवार्तामा महामन्त्रीद्वयले विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। उनीहरूले सभापतिप्रति सम्मान प्रकट गर्नका लागि मात्र छलफलमा आएको पनि सुनाएका थिए।
वार्तामा सहभागी एक नेताका अनुसार महामन्त्रीद्वयले देउवालाई पार्टी सभापतिबाट राजीनामा दिएर संरक्षकको भूमिकामा बस्न आग्रह गरेका थिए।
उनीहरुले सभापतिलाई संरक्षकको भूमिका सम्हाल्दै पार्टीको कार्यकारी नेतृत्वबाट अलग हुन प्रस्ताव गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार देउवाले असोज २८ गते नै कार्यकारी भूमिका त्यागेर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको निर्णय कार्यान्वयन गर्न पनि महामन्त्रीद्वयले आग्रह गरेका थिए।
महामन्त्रीद्वयले राखेको प्रस्तावमा सभापति देउवाले कुनै प्रतिक्रिया नदिएको वार्तामा सहभागी ती नेताले जानकारी दिए।
देउवाबाट जवाफ नआएपछि महामन्त्रीद्वयले आफ्नो धारणा यही रहेको र निर्णयबारे सोचेर बताउन आग्रह गर्दै अब निर्वाचन प्रक्रिया अघि बढाइने कुरा सुनाएको ती नेताले बताए।
त्यसपछि सभापति देउवाले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा पार्टी विभाजन हुने हो कि भन्ने जिज्ञासा राखेको पनि ती नेताले जानकारी दिए।
यसको प्रत्युत्तरमा महामन्त्रीद्वयले नेतृत्व परिवर्तनले पार्टी नफुट्ने स्पष्ट पारेको बताए। उनीहरूले नेतृत्व परिवर्तन व्यक्तिगत निर्णय नभई विशेष महाधिवेशनको हाउसबाट हुने निर्णय भएको पनि बताएका थिए।
महामन्त्रीद्वयले विशेष महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्ने हो, पार्टी फुटाउने होइन भन्ने धारणा राख्दै निर्वाचन प्रक्रियामा अघि बढिसकेको जानकारी दिएपछि देउवा निवासबाट बाहिरिएको ती नेताले बताए।
सभापति देउवा र महामन्त्रीद्वयबीचको छलफल करिब एक घन्टा चलेको थियो। उक्त वार्तामा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी रहेको जानकारी दिइएको छ।
महामन्त्रीद्वयले देउवाको राजीनामालाई आफ्नो अन्तिम शर्तका रूपमा राखेको र संस्थापन पक्षले भने उक्त माग स्वीकार नगरेको पनि वार्तामा सहभागी नेताले बताए।
यता विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियालाई तीव्र बनाएका छन्। निर्वाचन विद्युतीय माध्यमबाट गर्ने तयारी भइरहेको जनाइएको छ।
यसैबीच संस्थापन पक्षका नेताहरू केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपामा भेला हुन थालेका छन्। विशेष महाधिवेशन पक्षसँग सहमति खोज्न भन्दै पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक पुनः सारिँदै आएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।