सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूसँग औपचारिक पत्राचार गरेको छ ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मेटा (फेसबुक) र टिकटकका प्रतिनिधिसँग एक चरणको संवाद भइसकेको छ । साथै मेटा, टिकटक र एक्स (ट्वीटर) लाई आयोगले पत्र पठाइसकेको छ ।
भट्टराईले भने, “हामीले मेटा र टिकटकका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क गरेका छौँ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने यी कम्पनीहरूसँग संवाद भएको छ । विगतमा जस्तै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।”
उनका अनुसार आयोगले सामाजिक सञ्जालको प्रयोग सकारात्मक सन्देश र सूचनाका लागि प्रोत्साहन गर्ने तथा नकारात्मक गतिविधिमा कडाइ गर्ने नीति अपनाएको छ ।
यसै क्रममा आयोगअन्तर्गत सूचना सम्प्रेषण तथा समन्वय केन्द्रमार्फत कार्य गर्नेगरी ‘सूचना सदाचार प्रवर्द्धन एकाइ’ ले काम सुरु गरेको भट्टराईले जानकारी दिए । सामाजिक सञ्जालको निगरानीका लागि विशेष अनुगमन सफ्टवेयर पनि प्रयोगमा ल्याइएको छ ।
आसन्न आम निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा, निर्वाचनसम्बन्धी सूचना, जानकारी तथा गतिविधि प्रवाह गर्ने आयोगको नीति छ । तर, सामाजिक सञ्जालबाट फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिपफेक सामग्री, नक्कली साइट वा एकाउन्ट, निन्दा तथा मानहानीजस्ता गतिविधिमाथि कडा अनुगमन गरिनेछ ।
यस्ता गैरकानुनी गतिविधि भेटिएमा कानुनअनुसार कारबाही गर्न सम्बन्धित नियामक निकायहरूसँग सहकार्य गर्ने नीति आयोगले लिएको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।