सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।
वीरगंजमा विगत केही दिनदेखि जारी विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट पाँच बुँदे निर्णय गरेको छ ।
बैठकले प्रदर्शन तथा आन्दोलनका विषयमा संयम अपनाउने र कानूनी प्रक्रियामार्फत माग राख्ने निर्णय गरेको हो ।
बैठकमा अन्य मुलुक वा स्थानमा घटेका घटना–दुर्घटनालाई लिएर वीरगंजमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्ता विषयमा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र पेश गर्ने र त्यसपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्न जोड दिइएको छ।
भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक तथा सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न र आवश्यक कानूनी कारबाहीका लागि सिफारिस गर्न जिल्लामा स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय गरिएको छ ।
संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रज्जन सिंह, मुस्लिम समुदायबाट महमद महबुब अली ९शेरु० र अली असगर मदनी रहनेछन् ।
साथै आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि, जिल्लास्थित राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधि पनि संयन्त्रमा रहने निर्णय गरिएको छ ।
बैठकले सबै प्रकारका मिडियाकर्मीलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार ढंगले समाचार प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको छ ।
यसैगरी, बैठकमा उपस्थित सबै पक्षले आ–आफ्नो तर्फबाट भएका कमजोरीको मनन गर्दै आफ्ना समुदायका व्यक्तिहरूलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकका निर्णयहरू सम्बन्धित सबै संस्था, पक्ष तथा अभियन्ताले आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने र निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति पनि भएको छ।
विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्दै कुनै पनि विरोध कार्यक्रम नगर्ने निर्णयसमेत बैठकले गरेको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।