सामाजिक फीड-
सिरहा, पुस १० गते ।
मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका होनहार क्रिकेटर मिनष थापाको निधन भएको छ।
आज बिहान विराटनगर महानगरपालिका ४ को भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।
विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहान करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
थापा कोशी प्रदेशका उत्कृष्ट क्रिकेट खेलाडीमध्ये एक थिए। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाएका थिए।
कोशी प्रादेशिक क्रिकेट संघले कोशी प्रदेशले एक होनहार, कुशल तथा प्रतिभाशाली क्रिकेटर गुमाएको जनाएको छ। संघले कोशी प्रदेशको क्रिकेट विकासमा थापाले पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै नेपाली क्रिकेटले, विशेषगरी कोशी प्रदेशले उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।