सामाजिक फीड-
जनकपुरधाम, पुष ८ गते ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशगत मतभारको अन्तिम खाका सार्वजनिक भएसंगै मधेसमा चुनावी सरगर्मी बढेको छ। माघ ११ गते देशभर रिक्त भएका १९ सिटको लागि हुनलागेको चुनावमा मधेस प्रदेशबाट २ जना सदस्यका लागि निर्वाचन हुनेछ ।
निर्वाचन आयोगका अनुसार मधेश प्रदेशको कुल मतभार १० हजार ८३९ निर्धारण गरिएको छ। यस प्रदेशमा रहेका १०७ प्रदेशसभा सदस्य र १३६ स्थानीय तहका २७२ जना प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता रहनेछन्।
सबैभन्दा बढी मतभार नेपाली कांग्रेससँग रहेको छ। कांग्रेसका २२ प्रदेशसभा सदस्य र १०२ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल ३ हजार १०४ मतभार छ। त्यसपछि एमाले दोस्रो स्थानमा छ, जसका २५ प्रदेशसभा सदस्य र ५६ स्थानीय तहका प्रतिनिधिबाट २ हजार ४०८ मतभार बनेको छ।
तेस्रो शक्तिका रूपमा जनता समाजवादी पार्टी नेपाल रहेको छ। जसपा नेपालका १९ प्रदेश सांसद र ५४ स्थानीय तहका प्रतिनिधिबाट १ हजार ९२३ मतभार पुगेको छ। जनमत पार्टीका १३ प्रदेश सांसद र ३ स्थानीय तहका प्रमुख–उपप्रमुखबाट ७४६ मतभार रहेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका ९ प्रदेश सांसद र २४ स्थानीय तहका प्रतिनिधिबाट ९३३ मतभार पुगेको छ भने माओवादी केन्द्रका ९ प्रदेश सांसद र १८ स्थानीय तहका प्रतिनिधिबाट ७६६ मतभार कायम छ। नेकपा एकीकृत समाजवादीका ७ प्रदेश सांसद र ११ स्थानीय तहका प्रतिनिधिबाट ५८० मतभार रहेको देखिन्छ।
यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी पार्टीका समान १र१ प्रदेशसभा सदस्यबाट प्रत्येकको ५३–५३ मतभार रहेको छ भने तमलोपा (तमलोपा)को मतभार १९ रहेको छ। स्वतन्त्रतर्फ ३ स्थानीय तहका प्रतिनिधिबाट ३०५ मतभार गणना गरिएको छ।
समग्रमा मधेश प्रदेशमा १०७ प्रदेशसभा सदस्य र २७२ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल १० हजार ८३९ मतभार कायम रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।
यसरी राजनीतिक समीकरणको दृष्टिले राष्ट्रिय सभा निर्वाचनमा ठूला दलहरू एक्लाएक्लै मैदानमा उत्रिए पनि साना तथा मध्यम दलको समर्थन निर्णायक बन्ने देखिएको छ। निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली सार्वजनिक गरिनेछ। त्यसपछि नामावलीमाथि परेका दाबी–विरोध तथा उजुरीको छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने पुस २७ गते उम्मेदवारलाई नाम फिर्ता लिने अवसर दिइनेछ। सोही दिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ। पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह प्राप्त गर्नेछन्। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा चुनाव हुनेछ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।