सामाजिक फीड-
जनकपुरधाम, मंसिर २४ गते ।
बहुविवाह आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी (पूर्व) जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।
एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिली श्रीमतीले दर्ता गराएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
“बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएपछि उनी आफैँ हिजो साँझ उपस्थित भएका थिए। उनलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरिएको छ,” एसपी क्षेत्रीले बताए।
नेपालमाथि ३ दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बहुविवाहसम्बन्धी थप प्रमाण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ। नेपालकी दोस्रो श्रीमतीको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ।
यसअघि प्रहरी निरीक्षकका रूपमा बुटवलस्थित वडा प्रहरी कार्यालयमा इन्चार्ज रहेका नेपाल गाँजा कारोबारसँग सम्बन्धित आर्थिक लेनदेनमा संलग्न रहेको आरोपमा विभागीय कारबाहीमा परेका थिए।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।