सामाजिक फीड-
जनकपुरधाम, मंसिर २४ गते ।
अस्ट्रेलियामा आज देखी १६ वर्ष मुनिका बालबालिकाहरूले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् ।
अस्ट्रेलियाले कानुन नै ल्याएर बुधबारदेखि लागु हुने गरी बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार १६ वर्षमुनिका बालबालिकाहरूलाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्ल्याटफर्महरू प्रयोगमा निषेध गरेको हो।
यो कदमलाई अस्ट्रेलियन बालबालिकाका अभिभावकले गर्व गर्ने दिनका रूपमा व्याख्या गरेका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बताएका छन् ।
उनले राष्ट्रले भोग्न लागिरहेको सबैभन्दा ठूलो सामाजिक र सांस्कृतिक परिवर्तनमध्ये एक रहेको भन्दै यसले विश्वभर प्रभाव पार्ने बताए ।
धेरै अभिभावकहरुले पनि अष्ट्रेलिया सरकारको यो कदमको प्रशंसा गरेको भनेर रोयटर्सले लेखेको छ।
बालबालिकाहरूलाई सामाजिक सञ्जाल छाडेर खेलकुद, संगीत र अध्ययनजस्ता कार्यहरूमा लाग्न प्रधानमन्त्री अल्बानिजले भनेका छन्।
सरकारले यसलाई कार्यान्वयन पक्ष पनि बलियो बनाएको छ।
सरकारले ल्याएको यो व्यवस्था कार्यान्वयन नभए त्यस्ता बालबालिका वा उनीहरूका अभिभावकलाई केही नहुने तर त्यस्ता प्ल्याटफर्महरूलाई कारबाही हुनेछ।
रोयटर्सका अनुसार निषेध गरिएका सामाजिक सञ्जालहरूमा बालबालिकालाई पहुँच भए त्यस्ता प्ल्याटफर्महरूलाई झन्डै ५ करोड अस्ट्रेलियन डलर जरिवाना लाग्नेछ।
यसले त्यस्ता प्ल्याटफर्महरूलाई पनि आफ्नो तहबाट जिम्मेवार बनाउनेछ।
सरकारले सामाजिक सञ्जाल प्ल्याटफर्महरूले नयाँ खाता लागि प्रयोगकर्ताहरूका लागि आफ्नो उमेरसँगै सेल्फीमार्फत उमेर अनुमानजस्ता विधि प्रयोग गर्ने बताएको छ। आवश्यक परे परिचयपत्र र बैंक विवरणजस्ता कडा प्रमाण पनि मागिन सकिने जनाएका छन्।
रोयटर्सका अनुसार कानुन लागु हुनुअगाडि नै १० लाख बालबालिकाहरूले गुड बाइ भनेर आफ्नो अकाउन्टमा पोस्ट लेखेका छन्।
केहीले यसको विरोध पनि गरेका छन्।
अध्ययनले देखाएअनुसार ८ देखि १५ वर्षका ८६ प्रतिशत अष्ट्रेलियाली सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।