सामाजिक फीड-
जनकपुरधाम, मंसिर २२ गते ।
काठमाडौंको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न डेरा कोठामा झगडा भएपछि घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन्।
डोटी घर भएका २९ वर्षका असई पुष्कर कार्कीले आफ्ना चार महिनाका छोरा माहिर कार्कीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ। झगडाका क्रममा कार्कीले आफ्नी श्रीमती विष्णा साउदमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ।
एसपी भट्टराईका अनुसार, “छोराको उपचार गराउने विषयमा विवाद हुँदा श्रीमतीलाई कुटपिट गरे र सो क्रममा छोरामाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।”
श्रीमान-श्रीमती दुबैजना प्रहरी संगठनमै कार्यरत थिए। विष्णा प्रहरी जवान हुन् र दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा खटिएका थिए।
घटना पछि फरार भएका पुष्करलाई प्रहरीले साँझ करिब ६ बजे नागढुंगा चेकपोस्टबाट नियन्त्रणमा लिएको छ। कुटपिटबाट घाइते भएकी विष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।