सामाजिक फीड
जनकपुरधाम, मंसिर १९ गते ।
महोत्तरीमा दाइँ (दौनी) गर्न तयार पारेर राखिएको १५ कठा धानको कुन्यू (बोझ) जलेर नष्ट भएको छ । महोत्तरीको भङ्गहा नगरपालिका वडा नं ९ हरिनमरीका किशोरी यादवको धान अज्ञात व्यक्तिले जलाएर नष्ट गरेका हुन् ।
खडेरीको बेला पनि अत्यन्त मेहनत र भाडामा सिंचाई गरी फलाइएको धान दाइँ गरेर भित्र्याउने बेला जलाइएपछि घरपरिवार मर्महात भएका छन् ।
परिवारजनले १५ कठ्ठाको धान काटेर कुन्यू बनाएर दाइँको लागि थुपारेको थियो । ट्याक्टरवालाले आज दिउँसो दाइँ गरिदिने समय दिएको थियो । तर घरपरिवार बिहानै उठेर खेतमा जाँदा राखिएको धान नै जलाएर खरानी पारिएको पीडित यादवले बताए ।
कसैले रिसिबीले आफ्नो धान जलाएर नष्ट गरेको हुनसक्ने पीडित यादवले बताए । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाएर कडा कारबाही गर्न परिवारजनको माग छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।