Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ११ गते ।

काठमाडौं उपत्यकामा चिसो बढ्दै गएसँगै श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीको संख्या तीव्र रूपमा वृद्धि भएको छ। तापक्रम घटिरहेको र वायु प्रदूषण खतरनाक स्तरमा पुगेको कारण वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा दम, सिओपिडी लगायतका समस्या लिएर आउने बिरामीको संख्या दिनानुदिन बढिरहेको चिकित्सकहरूले बताएका छन्।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको थियो। चिसोसँगै वायु प्रदूषण अत्यधिक बढेकाले श्वासप्रश्वासका रोगीहरूलाई झनै असर परिरहेको विशेषज्ञहरूको भनाइ छ।

चिकित्सकहरूका अनुसार चिसो मौसममा विभिन्न भाइरस सक्रिय हुने भएकाले जोखिम बढ्ने गर्दछ। विशेषगरी इन्फ्लुएन्जा भाइरस अत्यन्त संक्रामक भएकाले समुदायमा छिट्टै फैलिने र फोक्सोसम्बन्धी रोग भएका बिरामीलाई गम्भीर असर पर्ने उल्लेख गरिएको छ। यसले ज्वरो, खोकी, शरीर दुखाइ, वान्ता, डायरिया लगायतका लक्षण देखाउन सक्ने र निमोनिया समेत निम्त्याउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्। समयमै उपचार नपाए ज्यान जाने जोखिम पनि रहने बताइएको छ।

वायु गुणस्तर अत्यन्तै खराब भएकोले निमोनिया, ब्रोन्काइटिस, कन्जक्टिभाइटिस, स्ट्रोक, मुटु सम्बन्धी समस्या जस्ता रोगको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। दीर्घकालीन रूपमा फोक्सो, आन्द्रामा अल्सर, क्यान्सर, किड्नी तथा हृदयसम्बन्धी समस्या समेत निम्तिन सक्ने भन्दै उनीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

संक्रमण फैलन नदिन समयमै निदान र उपचार महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकहरूले मास्क लगाउने, हात धुने, भीडभाडबाट टाढा रहने तथा सामाजिक दूरी कायम राख्ने सुझाव दिएका छन्।

जेष्ठ नागरिक तथा दीर्घरोगीलाई विशेष जोखिम रहने भएकाले उनीहरूलाई इन्फ्लुएन्जा र निमोनियाविरुद्धका खोप लगाउन चिकित्सकहरूले सिफारिस गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *